ktm
सफल हुन एक्स्ट्रा अर्डिनरी हुनु पर्दैन, पृथक् भैदिए पुग्छ । एक्स्ट्रा अर्डिनरी जो–कोही हुन सक्दैन, तर हरकोही मान्छे अर्को मान्छेभन्दा फरक त हुन्छ नै । सबै मानिसमा सफल हुन सक्ने गुण विद्यमान हुन्छ, मात्र खुट्टयाउन सक्नुपर्छ । प्रश्न उठ्छ, फरक कसरी हुने? 
एउटा स्टेसनबाट अर्को स्टेसन जान मानिसहरू हूलमूलबीच ट्रेन चढ्छन् र गन्तव्यमा पुग्छन् । सबैले गर्दै आएको काम त्यही ढाँचामा गर्नुलाई फरक हुनु भनिँदैन । त्यो हूलमूलभन्दा फरक ढंगले कुनै काम गर्नुचाहिँ फरक हुनु हो । अब फरक हुनु भनेको त्यही ट्रेन चढ्नुभन्दा वैकल्पिक उपाय अपनाएर सट्कट बाटोबाट गन्तव्यमा पुग्नु हो । गर्ने काम त्यही भए पनि शैली निर्णायक हुन्छ । 
हो, फरक हुनु भनेको चल्तीको चलनलाई चुनौती दिनु हो । अवसरलाई मुठ्ठीमा लिनु हो । फरक हुनु भनेको आफैसँग बारम्बार प्रश्न सोध्नु हो– किन र कसरी ? अनि फरक हुनु भनेको अरूले खनेको बाटोमा हिंड्नु होइन, आफैंले नयाँ ट्रयाक खोल्नु हो । हामी वास्तवमै युनिक जन्मिएका हुन्छौँ तर समाज, संस्कार, परम्परा वा संगतले आफ्नो युनिकनेस बिर्सन्छौं र सबै जना एउटै ड्याङका मुला भनेझैं उस्ताउस्तै हुन्छौं । 
एउटा मान्छेले एउटा माउतेले दुईवटा बडा–बडा हात्तीलाई साहै्रै मसिनो जुटको डोरीले खुट्टामा बाँधेर राखेको देखेर सोधेछ– माउते दाइ, यत्रा ठुला हात्तीले चाहे भने सानो झड्कामै यो डोरी चुँडालेर भाग्न सक्छन्, कसरी तपाईंले यिनलाई अड्याएर राख्नुभो ?
माउतेले भन्यो– ‘हेर, जन्मैदेखि यी हात्तीलाई मैले यही डोरीले बाधेको हुँ । सानोमा यो डोरीले राम्रो काम गथ्र्याे । ठूलो हुँदै जाँदा पनि यी हात्तीले डोरीले राम्रोसँग बाँध्न सक्छ भन्ठाने र अहिलेसम्म त्यही मानिरहेका छन् ।’ यो उदाहरणबाट के प्रस्ट हुन्छ भने समाजको एउटा नर्मभन्दा पर नजाने सधैं यतै वर–पर हुन्छ, तर कमन सेन्सलाई भन्दा गुड सेन्सलाई महत्व दिने धेरै अघि बढिसकेको हुन्छ । ती हात्तीले आफ्नो विचारलाई बलियो बनाउन सकेका भए त्यति सानो डोरीले उनीहरूलाई सदैब बन्धक बनाउन सक्ने थिएन ।
हामी आफ्नो जीवनको झन्डै १० देखि २० वर्ष शिक्षा आर्जन गर्न भनेर बिताउँछौँ । आफ्नो जीवनको यो महत्वपूर्ण हिस्सा हामी राम्रो जागिर पाउन नष्ट गर्छांै तर आफूले आफूलाई सुधार्न कहिल्यै समय खर्चंदैनौं । गाडीलाई जस्तै हामीलाई पनि समय–समयमा सर्भिसिङ गर्नुपर्छ । मन–मस्तिस्क रिचार्ज गर्नुपर्छ । आफू स्वयम् तन्दरुस्त र भित्रैदेखी खुसी नभएसम्म जागिर वा वैभवले दिने सफलता खोक्रो सफलता हो ।
जाँचको रुटिन निस्किएपछि हामी पढ्न थाल्छौं । हामीलाई थाहा हुँदैन, जीवनको प्रत्येक दिन, प्रत्येक क्षण यहाँ परीक्षा भैरहेछ । हामी हरक्षण कि पास भैरहेछौं कि फेल भैरहेछौं । हरेक दिन सीमा, परिबन्ध र परिधिहरूलाइ नाघ्ने सुवर्ण अवसर बोकेर आएका हुन्छन्, नसक्नु हाम्रो कमजोरी हो । हरेक दिनले हामीलाई केही सुधारिएको मानिस बन्न सक्ने मौका दिइरहेका हुन्छन्, नसक्नु हाम्रै असफलता हो ।
सधैं गनगन गरिरहने छोरीलाई बोलाएर एक पिताले तीनवटा भाँडोमा पानी तताउन लगाए ।
उनले त्यसमध्ये एउटा भाँडामा अन्डा, एउटामा आलु र अर्कोमा कफीका दाना हाल्न लगाए र उति नै बेर तताएपछि निकाल्न भने अनि सोधे– के–के देखिस् त छोरी ? छोरीले भनी– आलु, अन्डा र कफी । बाले फेरि भने– नजिकै गएर छोएर, सुघेर, अनुभव गरेर हेर, तिमीले गर्ने सम्पूर्ण सिकायतको उत्तर यसैमा छ । उति नै तापमा एउटा सार्‍हो आलु गिलो भयो, गिलो वा तरल अन्डा सारो भयो, कफीले त झन् आफूरहेको वातावरण (पानी) नै सुगन्धित बनाइदियो । आफू आलु बन्ने कि, अन्डा बन्ने कि कफीको दाना बन्ने आफ्नै हातमा छ । 



Comments

Popular posts from this blog

A CASE STUDY ON FINANCIAL ANALYSIS OF KUMARI BANK LIMITED

A STUDY ON FINANCIAL PERFORMANCE ANALYSIS OF MANGALA GAURI SAVING & CREDIT CO-OPERATIVE LTD. -BBS Report

A STUDY ON FINANCIAL POSITION ANALYSIS OF NEPAL INVESTMENT BANK LIMITED -Ruchi