सेयरमा लगानी गर्न चाहनेलाई जानकारी दिन सफ्टवेयर सार्वजनिक
Moonlight
Moonlight
सेयरमा लगानी गर्न चाहनेलाई सत्यतथ्य जानकारी दिने उद्देश्यले डेटा एनालिटिक्स सफ्टवेयर सार्वजनिक भएको छ।
सेयरमा लगानी गर्न चाहने नागरिकलाई सम्बन्धित कम्पनीका बारेमा सत्यतथ्य जानकारी दिने लक्ष्यका साथ उक्त सफ्टवेयर विकास गरिएको हो।
एस्ट्रिक टेक्नोलोजीले निर्माण गरेको उक्त सफ्टवेयरले सेयरमा लगानी गर्न चाहनेलाई कम्पनीको आर्थिक अवस्था, बजार मूल्य, नाफा घाटा तथा सम्बन्धित कम्पनीको सम्पूर्ण विवरण लगानीकर्तालाई जानकारी दिनेछ।
उक्त सफ्टवेरमा नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत सबै कम्पनीको विगत पाँच वर्ष यताको सबै तथ्यांक राखिएको छ। सफ्टवेयर प्रयोगकर्ताले आफूले चाहेबमोजिमको तथ्यांक उक्त सफ्टवेयरबाट लिनसक्ने एस्ट्रिक टेक्नोलोजीका प्रमुख कार्यकारी अधिकृत अतितलाल श्रेष्ठले जानकारी दिए। तर उक्त सफ्टवेयर भने लगानीकर्ताले तीन हजार ५ सय रूपैयाँमा खरिद गर्नुपर्ने हुन्छ।
उक्त सफ्टवेयरको अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सोमबार एक कार्यक्रमकाबीच सार्वजनिक गरेको हो।
अर्थमन्त्री कार्कीले डेटा एनालिटिक्स सफ्टवेयरले सेयर बजारका लगानीकर्तालाई सूचीकृत कम्पनीका बारेमा विश्लेषण गरी लगानीसम्बन्धी निर्णय लिन सहयोगी हुने विश्वास व्यक्त गरे।
धितोपत्र बोर्डका अध्यक्ष डा रेवतबहादुर कार्कीले स्वदेशी लगानीकर्ताको संरक्षण गर्दै धितोपत्र बजारमा गैरआवासीय नेपालीको लगानी भित्र्याउन गृहकार्यमा बोर्ड जुटेको जानकारी दिए।
उनले गैरआवसीय नेपालीले गर्ने लगानीको सीमा, मुनाफा फिर्ता लैजानेलगायतका विषय टुंग्याउन बाँकी रहेकाले यसले मूर्तरुप लिन नसकेको बताए।
नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले विकास बैंक र लघुवित्त कम्पनीको परिसूचक छुट्याएर बेग्लाबेग्लै बनाउन लागिएको जानकारी दिँदै अनलाइन कारोबार छिटो सञ्चालनका लागि आफूले कार्यभार सम्हालेदेखि नै प्रयास थालेको बताए।
विगत १० वर्षदेखि आर्थिक पत्रकारिता गर्दै आएको मेरो लगानी डटकम दसौं वर्षमा प्रवेश गरेको अवसरमा उक्त सफ्टवेयर सार्वजनिक गरिएको हो। यस्तै उक्त अनलाइनले नेपाल जर्नल डट कमसमेत सञ्चालनमा ल्याएको छ।
Comments
Post a Comment